हिजो मतदान सम्पन्न भई हेलिकप्टरबाट मतपत्र ढुवानी गर्नुपर्ने हिमाली क्षेत्रका १५ मध्ये तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी नै रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिकूल मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखा गरी तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी रहेको हो । तीन जिल्लाका हिमाली क्षेत्रका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा हिजो बेलुकादेखि नै मौसमका कारण सम्भव हुन नसकेको जानकारी प्राप्त भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
मौसमले साथ दिएसम्म तीन वटै जिल्लाको मतपत्र आजै बेलुकासम्म निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरी तयारी भइरहेको छ । मतपत्र ढुवानी भइसकेपछि तीनै वटा जिल्लाको मतगणना शुरू हुनेछ ।
यसैगरी रसुवा, दोलखा, रुकुम (पूर्वी भाग), बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रुकुम (पश्चिमी भाग), सोलुखुम्बु र मुगुका हिमाली भेगका मतदान केन्द्रका मतपत्र भने जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको छ ।
दोलखामा मतगणना केहीबेरमा शुरू गर्ने तयारी छ । मतगणना गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ । यस्तै स्याङ्जा, दोलखा र धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कानूनबमोजिम अघि बढाउन आयोगले निर्देशन दिएको छ ।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को घण्टी चुनाव चिह्नमा खसेको मत छुट्याएर राखी मतगणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।











