काठमाण्डौ । जावालाखेलमा रहेको चिडियाखानामा अहिले १ सय १२ प्रजातिका १ हजार २ सय ७३ जीवजन्तु रहेका छन् । सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले १९८९ सालमा व्यक्तिगत रूपमा स्थापना गरी सञ्चालनमा ल्याउनुभएको थियो । पछि चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो ।
चिडियाखाना प्रशासनका अनुसार चिडिखानाका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने तथा जङ्गलबाट उद्धार गरेर ल्याइने गरेकाले सङ्ख्या घटबढ हुन्छ । सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षको ‘पवनकली’ नामक हात्ती रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो ।
चिडियाखानामा बाघ चारवटा छन् । केही जीवजन्तुले प्रजनन गरे पनि धेरैजसो जनावरले बसोबास गर्ने वातावरण पूर्ण रूपमा उपयुक्त नहुँदा प्रजनन कम हुने गरेको चिडियाखाना प्रशासनले जनाएको छ ।











