काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (५) बमोजिम निर्वाचन प्रचार प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्नुपर्छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक निर्वाचन प्रणालीतर्फको हकमा सम्बन्धित राजनीतिक दलले निर्वाचन आयोगसमक्ष तोकिएको ढाँचामा निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्छ ।
राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले पैतिस दिनभित्र निर्वाचन खर्च विवरण पेश गरी निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सम्बन्धित सरोकारवालाको जानकारीको लागि आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दल र उम्मेदवारले तोकिएको समयसीमाभित्र निर्वाचन प्रचार प्रसारमा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्छ । त्यसरी सार्वजनिक गरेको फोटो वा स्क्रिनसट प्रिन्ट गरी वा भरपर्दो प्रमाण संलग्न गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्छ ।
निर्वाचन खर्चको विवरण नबुझाए वा सार्वजनिक नगरे आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिमसम्बन्धित पार्टी र उम्मेदवारलाई कारबाही गर्ने गरेको छ ।











