स्थानीयवासीको अवरोधले काठमाण्डाै उपत्यकाको फोहर विसर्जन रोकियो

नुवाकाेट । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा काठमाण्डौ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाण्डौ महानगरपालिका र शहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाण्डौबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीयवासी निरञ्जन सञ्जेलले बताउनुभयो । पटक–पटक भएका उधारो सहमतिले आफूहरू पीडित भएको र माग पूरा नहुञ्जेल अवरोध गरिरहने उहाँको भनाइ छ ।

यसअघि गएको कात्तिक १६ गते तत्कालीन शहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयवासीले दुई जिल्लाको सीमा ढाँडेमा रहेको सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् ।

ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search