काठमाण्डाै । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि नेपाल आयल निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ ।
निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन बिक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभएको छ ।
त्यसैगरी ग्यास बिक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरेँ भन्ने कुराको फोन नम्बरसहित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
ग्यास वितरणका क्रममा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निगमको मुख्य निर्देशन छ । होटल तथा व्यावसायिक क्षेत्रभन्दा पहिले सर्वसाधारणका लागि ग्यास उपलब्ध गराउनुपर्ने र व्यावसायिक प्रयोजनमा पठाइएको ग्यासको पनि छुट्टै रेकर्ड राख्न निगमले भनेको छ ।
उद्योगीहरूसँग मूल्य अभिवृद्धि कर (भ्याट) बिल र गाडी ट्र्याकिङ प्रणाली हुने भएकाले अब कुन बिक्रेताले कति ग्यास प्राप्त गर्याे र कसलाई बेच्यो भन्ने कुराको सूक्ष्म अनुगमन गरिने निगमले जनाएको छ । नेपालमा आपूर्तिमा कुनै समस्या नभए पनि केवल वितरण प्रणाली व्यवस्थित बनाउन मात्र समस्या रहेको निगमले बताएको छ ।











