काठमाण्डाै । अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही ठाउँहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागको थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँहरूमा मेघगर्जन र चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाण्डौ र आसपासमा अहिले घाम लागे पनि दिउँसोपख बदली भएर हल्का पानी पर्ने सम्भावना छ । हिजोको वर्षा र हावाहुरीले प्रदूषण केही घटाए पनि पूरै हट्न सकेको छैन ।











