काठमाण्डौ । धरहरा क्षेत्रको पार्किङ व्यवस्थापनको जिम्मेवारी काठमाण्डौ महानगरपालिकाले लिएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार महानगरले गएको फागुन १० गतेदेखि जिम्मेवारी लिएपछि नगर प्रहरी बलले सञ्चालन सम्हालेको छ ।
धरहराको बेसमेन्ट पार्किङ बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजित छ । बी–१ मा १ सय २७ वटा चारपाङ्ग्रे गाडी, बी–२ मा झन्डै ७ सयवटा मोटरसाइकल र बी–३ मा १३५ चारपाङ्ग्रे गाडी पार्किङ गर्न सकिन्छ ।
अपाङ्गमैत्री पार्किङको पनि व्यवस्था छ । वसन्तपुर, विशालबजार, धर्मपथलगायत आसपासका क्षेत्रमा फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ पूर्णतः निषेध गरिएको छ । अहिले पार्किङ सेवा निःशुल्क रहेको छ । पार्किङ क्षेत्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ, तर गाडीको सुरक्षा जिम्मेवारी गाडीधनीकै हुनेछ ।











