अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि ठूला चुनौती छन् : अर्थमन्त्री खनाल

काठमाण्डाै । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि देशमा ठूला चुनौतीहरू रहेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री खनालले शोधनान्तर बचत, चालू खाता बचत, राम्रो विदेशी मुद्रा सञ्चिति र न्यून मुद्रास्फीतिजस्ता सूचकहरू सुधारका सङ्केत भएको उल्लेख गर्नुभयो ।

आर्थिक वृद्धिदर कम्तीमा ४ प्रतिशत पुगेको छ भने राजस्व सङ्कलन लक्ष्यको झन्डै ८३ प्रतिशत भएको छ । तर बैंकमा रहेको ठूलो निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु प्रमुख समस्या बनेको छ ।

खाडीसहित मध्यपूर्वको सङ्कटले आपूर्ति शृङ्खला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यसले औद्योगिक उत्पादन लागत बढाई समग्र अर्थतन्त्रमा असर पार्न सक्ने भन्दै अर्थमन्त्री खनालले सबै पक्ष सचेत रहनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताउनुभयो । अहिले बैंकहरूसँग झन्डै ७७ खर्ब रुपैयाँ निक्षेप रहेको भन्दै अध्यक्ष कोइरालाले यसमध्येबाट बैंकहरूले ५८ खर्ब रुपैयाँ जति मात्रै कर्जा प्रवाह गरेको जानकारी दिनुभयो । पछिल्लो समय कर्जा प्रवाहको वृद्धि दर बढ्न नसकेको भन्दै उहाँले बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू तमाम रहेको उल्लेख गर्नुभयाे ।

कोइरालाकाअनुसार कर्जा असुलीका लागि जाने क्रममा बैंकका कर्मचारीहरूले विभिन्न धम्की र दबाव सामना गर्नुपरेको छ । बैंकर्स सङ्घले पनि यस विषयमा अझ सक्रिय भएर अघि बढ्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँकाअनुसार ऋण तिर्नु पर्दैन भन्नेजस्ता भाष्य बनाउन खोज्न बैंकसँगै अर्थतन्त्रकै लागि जोखिम हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search