काठमाण्डौ । नेपालमा एक वर्षमा झण्डै ६१ अर्ब रुपैयाँ बराबरको कुखुराको मासु कारोबार भएको छ । त्यस्तै १४ अर्ब ८२ करोड रुपैयाँको अण्डा बिक्री भएको तथ्याङ्क छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१÷८२’ को पछिल्लो प्रतिवेदनले नेपालको कुखुरापालन व्यवसाय परम्परागत निर्वाहमुखीबाट पूर्णतः व्यावसायिकतातर्फ रुपान्तरण भएको तथ्यलाई उजागर गरेको छ । मनाङ र मुस्ताङबाहेक अरु सबै जिल्लामा व्यावसायिक कुखुरापालन विस्तार भएको छ । झण्डै ६३ हजार ८ सयको संख्यामा किसान संलग्न भएका सर्वेक्षणमा उल्लेख छ ।
देशभर २३ हजार फार्म छन् । धेरैजसो फार्म व्यक्तिगत स्वामित्वमा सञ्चालन भइरहेका छन् भने ६३.७ प्रतिशत मात्रै सरकारी निकायमा दर्ता छन् । यो क्षेत्रले वार्षिक ८६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष आर्थिक कारोबार गर्दै हजारौँलाई रोजगारी प्रदान गरेको छ ।
भौगोलिक आधारमा बागमती प्रदेश कुखुरापालनको ‘केन्द्र’ बनेको छ । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा रहेको उच्च माग र बजारको सहज पहुँचका कारण बागमती प्रदेश कुखुरापालनको क्षेत्रमा अग्रणी देखिएको सर्वेक्षणले देखाएको छ ।
शिक्षित युवाहरू यो पेशमा प्रवेश गर्दा आधुनिक प्रविधि र व्यवस्थापकीय सीपको प्रयोग बढ्न थालेको छ, जसले उत्पादनको गुणस्तरमा समेत सुधार ल्याएको सर्वेक्षणले जनाएको छ ।











