युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा यूएईमा अहिलेसम्म एकसय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । मध्यपूर्व युद्धको समयमा भिडियो खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा उनीहलाई पक्राउ गरिएको यूएईको अबुधाबी प्रहरीले जनाएको छ । इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा चर्किएको युद्धबारे यूएईसहित खाडीका देशहरूले आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका छन् । यूएईले यसअघि सूचनामार्फत् नै आक्रमणसँग सम्बन्धित फुटेज वा सामग्री सार्वजनिक नगर्न अनुरोध गरेको थियो ।
अबुधाबी प्रहरीले इरानी आक्रमणस्थल र घटनाको भिडियो खिचेको र सामाजिक सञ्जालमार्फत गलत जानकारी प्रसारित गरेका विभिन्न देशका १०९ व्यक्तिलाई पक्राउ गरेको घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । यस्ता कार्यहरूले भड्काउ र अफवाह फैलने भन्दै गलत पोष्ट नगर्न सूचित गरिएको छ ।
कतारमा अधिकारीहरूले पनि युद्धको समयमा ‘भ्रामक सूचना’ र तस्बिरहरू साझा गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको जनाएका छन् । बहराइन र कुवेतले पनि यस्तै कदम चालेका छन् ।
अमेरिका–इजरायलबाट भएको आक्रमणको जवाफमा इरानले गरेको अमेरिकी सैन्य अखडालक्षित प्रतिआक्रमणबाट विशेषगरी खाडीका क्षेत्र प्रभावित बनेका छन् ।यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँग युद्ध अन्त्य गर्ने विचार गरिरहेको, तर अन्य देशहरूले होर्मुज मार्गको सुरक्षा गर्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको छ ।











