काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले नवयुवा आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगको छानबिन समितिले हिजो अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन बुझाएको हो । आयोगकी सदस्य लिली थापा अध्यक्षताको छानबिन समितिले करिब साढे नौ हजार पेज लामो प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई घटनाको जिम्मेवार रहेको औँल्याएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय सुरक्षा परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने गर्छन् । पूर्वतयारी राम्रो नहुँदा आन्दोलनमा ठूलो मानवीय क्षति भएको छानविन समितिको निष्कर्ष छ ।
प्रतिवेदनमा विशेष सुरक्षा योजना कार्यान्वयन हुन नसकेको, आन्दोलन नियन्त्रणका लागि सिलसिलेवार रुपमा बल प्रयोग नगरी एकैपटक अत्यधिक बल प्रयोग तथा घातक हतियार प्रयोग गरेको उल्लेख छ ।











