हिमालय क्षेत्रका हिमनदी पग्लिने दर थप तीव्र

काठमाण्डौ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडको अध्ययनले हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू खतराजनक गतिमा पग्लिरहेका देखाएको छ । इसीमोडले विश्व हिमनदी दिवसको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०११ देखि २०२० को अवधिमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा झन्डै ६५ प्रतिशतले बढेको छ ।

जलवायु परिवर्तनका कारण तापक्रम निरन्तर बढ्दै जाँदा हिमनदी र हिमआवरण दुवै तीव्र रूपमा घटिरहेका छन् । सन् १९९० देखि २०२० को बीचमा हिन्दुकुश हिमालयका हिमनदीले कूल क्षेत्रफलको १२ प्रतिशत र हिउँ भण्डारको ९ प्रतिशत हिस्सा गुमाइसकेका छन् ।

यो क्षेत्रका ६३ हजार ७ सय भन्दा बढी हिमनदी एशियाका कम्तीमा १० प्रमुख नदी प्रणालीका स्रोत हुन् र तिनमा निर्भर १ अर्ब ९० करोडभन्दा बढी मानिसको खाद्य, पानी र ऊर्जा सुरक्षा प्रत्यक्ष जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ ।

तीव्र गतिमा हिमनदी पग्लिँदा बाढी, पहिरो र हिमताल फुट्ने जोखिम पनि बढ्दै जाने चेतावनी दिइएको छ, जसले पहाडी समुदायको जीवन, पूर्वाधार र जीविकोपार्जनमा गम्भीर असर पारिरहेको छ ।अहिलेकै उत्सर्जन दर कायम रहे सन् २१०० सम्म हिमनदीको झन्डै ८० प्रतिशत बरफ हराउन सक्ने चेतावनी दिँदै प्रतिवेदनले तत्काल नीतिगत सुधार, अन्तर्राष्ट्रिय सहकार्य र स्थानीय अनुकूलन कार्यक्रमको आवश्यकता औँल्याएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search