काठमाण्डौ । पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको तर निरन्तर पानी परिरहेका कारण समस्या भएको बुटवल प्रहरीले जनाएको छ ।
यस्तै रुकुम पूर्वमा हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका–१ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध यात्रु अलपत्र परेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीका अनुसार निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक तत्काल खुलाउन समस्या छ । यात्रुको उद्धारको लागि पालिकासँग समन्वय भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।
यस्तै अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी खोलामा पानीको बहाव कम भएको र पानी पसेर अवरुद्ध भएको सडक मर्मत गरेपछि गाडी चल्न थालेका छन् । पानी पर्ने सम्भावना कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।
रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन गएराति रोशी खोलाले बगाएको थियो । राजमार्ग अवरुद्ध हुँदा काभ्रेखण्डका गाडीलाई धुलिखेल, भकुण्डे र कटुन्जेमा केहीसमय रोकिएको थियो भने सिन्धुली खण्डतर्फ प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा होल्ड गरिएको थियो ।











