काठमाण्डौ । अहिले कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का हावासहित पानी परिरहेको छ । बागमती प्रदेशका थोरै ठाउँमा तथा कर्णाली र लुम्बिनी प्रदेशका १/२ ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ । पछिल्लो ३ घण्टामा धनकुटामा सबैभन्दा धेरै ३८.४ मिलिमिटर पानी परेको मौसमविद् डेविड ढकालले जानकारी दिनुभयो । आज दिउँसो काठमाण्डौ उपत्यकामा पनि सामान्य वर्षा भएको छ ।
आजराति कोशी प्रदेशका केही ठाउँमा, मधेशका थोरै ठाउँमा र बाँकि हिमाली र पहाडी क्षेत्रमा १/२ ठाउँमा सामान्य पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशखाले जनाएको छ । केही दिनदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका क्रमिक रूपमा हट्दै गएपनि प्रि–मनसुनको समय भएकाले छिटपुट पानी भने परिरहने मौसमविद् ढकालले बताउनुभयो ।
हिजोदेखि देशका धेरैजसो भागमा वर्षा भएपछि विभिन्न मुख्य सडकहरू अबरुद्ध भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मध्यपहाडी राजमार्गको रुकुम पूर्व र बागलुङ जोड्ने खण्डमा हिमपातका कारण अवरोध भएको छ ।
पानी परेपछि सडक चिप्लो भएर महेन्द्र राजमार्ग अन्तर्गतको दाउन्ने खण्ड अवरुद्ध बनेको छ । कान्ति लोकपथ र बीपी राजमार्गको अबरोध हटाएको भएपनि भोलीसम्म राम्रोसँग बुझेर मात्र यात्रा गर्न प्राधिकरणले अनुरोध गरेको छ । तर भोलीसम्म पनि कतैकतै पानी पर्ने भएकोले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । अहिले प्रिमनसुनको समय रहेकाले हावाहुरी हुने सम्भावना समेत रहने भन्दै विभागले यात्रा एवम् हिँडडुलमा सजग हुन सुझाव दिएको छ ।











