काठमाण्डौ । विश्व खुसी प्रतिवेदन २०२६ अनुसार नेपाल अघिल्लो वर्षको तुलनामा सात स्थान तल झरेको छ । संयुक्त राष्ट्रसंघमा आबद्ध सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अध्ययन गरिएका १ सय ४७ देशमध्ये नेपाल ९९औँ स्थानमा रहेको छ ।
गएको वर्ष नेपाल यही सूचीको ९२औं र सन् २०२४ मा ९३औँ स्थानमा रहेको थियो । दक्षिण एशियाली देशहरूमा भने नेपाल अग्रस्थानमा छ । नेपाल पछि पाकिस्तान १०४औँ, भारत ११६औँ, बङ्कलादेश १२७औँ, श्रीलङ्का १३४औँ स्थान र अफगानिस्तान भने १४७औँ स्थानमा छन् ।
फिनल्याण्ड यसपालीसहित लगातार नौ पटक विश्वकै सबैभन्दा खुसी देश बनेको छ । यस वर्ष आइसल्यान्ड दोस्रो र डेनमार्क तेस्रो स्थानमा छन् । यी देशहरूमा उच्च सामाजिक सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, कम भ्रष्टाचार र आर्थिक स्थिरतालाई खुसीको मुख्य आधार मानिएको छ ।
सूचीको सबैभन्दा तल अफगानिस्तान र त्यसपछि जिम्बाब्वे र कङ्गो रहेका छन् । यस वर्षको प्रतिवेदनमा सामाजिक सञ्जालको प्रयोग र खुसीबीचको सम्बन्धलाई विशेष महत्व दिइएको छ ।
अध्ययनले दैनिक एक घण्टासम्मको सामाजिक सञ्जाल प्रयोग तुलनात्मक रूपमा कम हानिकारक रहेको देखाएको छ । तर अहिले विश्वभर औसत दैनिक प्रयोग झन्डै अढाई घण्टा पुगिसकेको छ, जुन हानिकारक मानिने सीमाभन्दा निकै माथि हो ।
प्रतिवेदनले विशेषगरी किशोरकिशोरीहरूमा अत्यधिक सामाजिक सञ्जाल प्रयोगसँगै खुसी घट्दै गएको गम्भीर चेतावनी दिएको छ ।











