काठमाण्डाै । इरानमाथि इजरायल र अमेरिकाले आक्रमण गरेपछि मध्यपूर्वमा फैलिएको द्वन्द्वको असर नेपालको भान्सासम्म आइपुगेको छ । खाना पकाउने एलपी ग्यासको अभाव र पेट्रोलको मूल्यवृद्धिका साथ शुरू भएको यो असरले नेपाली अर्थतन्त्रका प्रमुख क्षेत्रहरूलाई एकैसाथ चपेटामा पार्न थालेको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार अहिलेसम्म पेट्रोलियम पदार्थको आयात अवरुद्ध नभए पनि मूल्यवृद्धिका कारण निगमलाई १५ दिनमा मात्रै ४ अर्ब रुपैयाँ घाटा हुने स्थिति छ । उपभोक्तालाई पनि लिटरमै १५ रुपैयाँको वृद्धि भइसकेको छ ।
अर्थविज्ञकाअनुसार इन्धनको मूल्य बढ्नेबित्तिकै यातायात र ढुवानीदेखि सबै क्षेत्रमा मूल्यवृद्धि हुन्छ । रेमिट्यान्समा पनि दबाव बढ्ने जोखिम छ । मध्यपूर्वका देशहरूले नेपालको कुल रेमिट्यान्सको ४१ प्रतिशत हिस्सा ओगटेका छन् ।
गएको आर्थिक वर्षमात्रै साढे ६ लाख नेपाली त्यस क्षेत्रमा श्रम स्वीकृति लिएर पुगेका थिए । तर अहिले संयुक्त अरब इमिरेट्स (यूएई) र कतारजस्ता देशहरूमा कतिपय नेपाली कामदारलाई बेतलबी बिदामा राख्न थालेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।
पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार मध्यपूर्व हुँदै नेपाल आउने उडान अहिले आधाभन्दा कममा झरेका छन् । यसका साथै रासायनिक मलको अभावले आउँदो धान र मकै खेतीको मौसममा कृषि उत्पादनमा समेत गम्भीर असर पर्ने जानकारहरूको चिन्ता छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको एकचौथाइ योगदान रहने गरेको छ । अर्थविद्हरूले इन्धनको खपत घटाउन जोर–बिजोर प्रणाली लागू गर्न र सार्वजनिक गाडीको प्रयोग बढाउन सुझाव दिएका छन् ।











