शेयर बजार ५४ अङ्कले बढ्दा साढे २३ अर्बको कारोबार

काठमाण्डाै । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेर २ हजार ९०० को विन्दु पार गरेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५१ अङ्कले बढेर २ हजार ९ सय ३१ दशमलव ५५ विन्दुमा पुगेको हो ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढ्दा लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालाे लागेकाे छ । यस्तै होटल तथा पर्यटन समूहकाे शेयरमा ३ प्रतिशतभन्दा धेरैको वृद्धि भएकाे छ । बैंक, विकास बैंक, फाइनान्स, बीमा समूहकाे शेयर पनि २ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

आज ६ वटा कम्पनीका शेयरमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । अरू ३ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ । समग्रमा बजार बढेको दिन एनआईसी एशिया ब्यालेन्स फन्डकाे शेयर भने झन्डै ६ प्रतिशतले घटेकाे छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बिहीवार २१ अर्ब २२ करोडकाे काराेबार भएकाेमा आज ३६४ वटा कम्पनीका ६ करोड १४ लाख कित्ता शेयर २३ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएकाे छ । आजको कारोबार रकम ८ महिनायताकै धेरै हो । यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । त्यसयता पहिलो पटक कारोबार २३ अर्ब रुपैयाँ नाघेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search