हरेक वर्ष पृथ्वीको एक छेउबाट अर्को छेउसम्म झन्डै ३० हजार किलोमिटर उड्ने शोरबर्ड प्रजातिको समुद्री चरा हड्सनियन गोडविट अहिले अस्तित्वकै सङ्कटमा पुगेको छ ।m जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
आर्कटिकबाट दक्षिण अमेरिकाको पुछार प्याटागोनियासम्मको कठिन यात्रा गर्दै फेरि फर्किने यो चरालाई विश्वकै असाधारण यात्रु प्रजातिमध्ये एक मानिन्छ । तर बदलिँदो वातावरणीय अवस्थाले यसको बाँच्ने आधार नै कमजोर बन्दै गएको वैज्ञानिकहरू बताउँछन् ।
ब्राजिलमा भोलिदेखि शुरू हुने आप्रवासी प्रजातिको संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (सीएमएस) को बैठकमा हड्सनियन गोडविटलाई अन्तर्राष्ट्रिय संरक्षण आवश्यक पर्ने ४२ प्रजातिको सूचीमा राखिएको छ । यस सूचीमा ह्यारी पोटरमा देखाइने हिउँमा पाइने उल्लु, ह्यामरहेड शार्कजस्ता अन्य जोखिममा रहेका जीवहरू पनि समावेश छन् ।
म्यासाचुसेट्स एम्हर्स्ट विश्वविद्यालयका पारिस्थितिकीविद् नाथन सेनरका अनुसार प्रवासी चराहरूले ‘छिटो र नाटकीय गिरावट’ को सामना गरिरहेका छन् । उहाँले विगत २० वर्षदेखि यस प्रजातिको अध्ययन गर्दै आउनुभएको छ । उहाँकाअनुसार गोडविटले एकै पटकमा ११ हजार किलोमिटरसम्म विना रोकटोक उड्न सक्छ जहाँ उसले खान, पिउन वा आराम गर्नसमेत पाउँदैन ।
तर यस्तो लामाे दुरीकाे उडानमा यात्राको हरेक चरणमा पर्याप्त र भरपर्दो खाद्य स्रोत आवश्यक पर्छ । अहिले यही पूर्वानुमान योग्यता बिग्रँदै गएको छ । आर्कटिक क्षेत्रमा वसन्तको समय परिवर्तन हुँदा बच्चा हुर्किने समय र कीराहरूको उपलब्धताबीच असन्तुलन देखिँदा चराको जीवनचक्रमा असर पारेको खबरमा उल्लेख छ ।
गोडविटहरू अघिल्ला वर्षको तुलनामा किन ढिलो बसाइँ सर्न थालेका छन् भन्ने रहस्य पनि वैज्ञानिकहरूका लागि चुनौती बनेको छ । सेनरका अनुसार या त उनीहरूले प्रयोग गर्ने प्राकृतिक सङ्केतमा परिवर्तन आएको छ वा उनीहरूको तयारी प्रक्रियामा समस्या देखिएको छ ।
दक्षिणी चिलीमा सालमन र ओइस्टर खेती विस्तार हुँदा तटीय क्षेत्रहरूमा मानव गतिविधि बढेको छ जसले गर्दा चराले खाने ठाउँहरूमा असर पारेको छ । यस्तै अमेरिकामा खेती प्रणाली परिवर्तन हुँदा सिमसार क्षेत्र घट्दै गएका छन्,जसले गोडविटलाई आराम र आहारका लागि उपयुक्त ठाउँ खोज्न कठिन बनाएको छ ।
विशेषज्ञहरूका अनुसार यो समस्या केवल एक प्रजातिमा सीमित नभई धेरै प्रवासी प्रजातिहरूको साझा सङ्कटको प्रतिनिधि हो । ब्राजिलको वातावरणीय निकाय इबामाका प्रमुख रोड्रिगो अगोस्टिन्होले जलवायु परिवर्तनले प्राकृतिक समयचक्रमा निर्भर प्रजातिहरूलाई गम्भीर असर पारिरहेको बताउनुभयो ।
सीएमएस बैठकमा सहभागी देशहरूलाई जोखिममा रहेका प्रजातिहरूको संरक्षण, वासस्थान जोगाउने, आप्रवासनमा अवरोध हटाउने र अन्तरदेशीय सहकार्य बढाउने कानूनी दायित्व हुन्छ । तर भर्खरैको प्रतिवेदनअनुसार सूचीबद्ध प्रजातिमध्ये ४९ वटाको सङ्ख्या अझै घटिरहेको छ, यो दुई वर्षअघिको तुलनामा धेरै हो ।
सीएमएसकी कार्यकारी सचिव एमी फ्रेन्केलकाअनुसार विशेषगरी गोडविटजस्ता चराहरूको अवस्था झन् खराब हुँदै गएको छ । उहाँले माछा प्रजातिहरूको अवस्था अझ चिन्ताजनक रहेको उल्लेख गर्दै सूचीबद्ध ९७ प्रतिशत माछा लोप हुने जोखिममा रहेको बताउनुभयो ।
उहाँकाअनुसार प्रवासी प्रजातिहरू परागण, कीरा नियन्त्रण र पोषक तत्त्वको ओसारपसारमार्फत स्वस्थ पारिस्थितिक प्रणालीका लागि अत्यन्त आवश्यक छन् । यसैबीच केही सकारात्मक सङ्केत पनि देखिएका छन् । मध्य एशियाको ब्याक्ट्रियन हिरणको सङ्ख्या बढेकाले यसलाई उच्च जोखिम सूचीबाट हटाउने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको छ ।











