काठमाण्डाै । चुनावअघि विभाजनको मुखैमा पुगेको नेपाली कांग्रेसको विवाद फेरि सतहमा आएको छ । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्ष एकजुट भएर चुनावमा गएपछि पनि समानान्तर गतिविधि देखिएका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा चल्दै गर्दा शेरबहादुर देउवा र शेखर कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । यो समूहले पार्टीको विशेष महाधिवेशनविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ र अन्तिम फैसला नआउन्जेल गतिविधि जारी रहने नेता मीन विश्वकर्माले बताउनुभयो । नेता श्याम घिमिरेले दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा पार्टी विभाजनको खतरा बढेको बताउनुभयो ।
सानेपाको बैठकले गगन थापाले दिएको राजीनामामाथि छलफल गर्नुका साथै चुनावी हारको समीक्षा गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । धारणा राख्ने सबै केन्द्रीय सदस्य राजीनामा फिर्ताको पक्षमा रहेका छन् र बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत भएको छ ।
बैठकले प्रतिनिधि सभा चुनावमा कम्तीमा २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । यसैबीच नेपाल विद्यार्थी सङ्घले कांग्रेसको भ्रातृ सङ्गठनबाट अलग हुने प्रस्ताव गरेको छ । गएको बिहीवार बसेको केन्द्रीय सिनेट बैठकले सङ्गठनलाई संस्थागत सुधार र पुनर्संरचना गरी कार्यगत स्वायत्तता सुनिश्चित गर्दै स्वचालित अधिवेशन प्रणाली लागू गर्न माउ पार्टीलाई प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिनुभयो ।











