काठमाण्डाै । नेपालसहित विश्वभर करोडौँ महिलाले प्रयोग गर्ने नक्कली कपालमा स्तन क्यान्सर, होर्मोन असन्तुलन र प्रजनन समस्या निम्त्याउन सक्ने हानिकारक रसायन पाइएको एउटा अध्ययनले देखाएको छ । अमेरिकन केमिकल सोसाइटी जर्नलमा प्रकाशित अध्ययनअनुसार ४३ नमूना परीक्षण गर्दा १७० किसिमका रसायन फेला परेका थिए जसमध्ये ४८ रसायन राष्ट्रसङ्घ र युरोपिअन केमिकल्स एजेन्सीको खतरा सूचीमा रहेका छन् ।
अध्ययनकी मुख्य लेखक एलिसिआ फ्र्याङ्क्लिनकाअनुसार नक्कली कपाल टाउकोको छालामाथि हप्तौँ वा महिनौँसम्म टाँसिएर रहने हुँदा दीर्घकालीन स्वास्थ्य खतरा निकै गम्भीर हुन सक्छ । परीक्षण गरिएका नमूनाहरूमा आगो निभाउने रसायन, कीटनाशक र प्रजनन शक्तिमा असर पार्ने थ्यालेट यौगिकसहित स्तन क्यान्सरसँग जोडिने १७ थरी रसायन ३६ वटा भेटिएका अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मानव रौँबाट बनेका महँगा र प्राकृतिक भनिएका कपालमा पनि कृत्रिम कपालमा भन्दा धेरै हानिकारक रसायन फेला परेका छन् । नक्कली कपाल तताउँदा वा उमालिएको पानीमा डुबाउँदा निस्कने विषालु धुवाँ सास फेर्दा शरीरभित्र पुग्ने र छालाको सम्पर्कबाट पनि असर गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । सन् २०२८ सम्ममा विश्वव्यापी नक्कली कपाल बजारको मूल्य १४ अर्ब डलरभन्दा धेरैको हुने अनुमान रहेको छ ।











