काठमाण्डौ । प्रतिनिधिसभा विघटनपछि सङ्घीय निजामती, नेपाल प्रहरी र विद्यालय शिक्षासम्बन्धी लगायत ३१ वटा विधेयक निष्क्रिय भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ती विधेयकहरू प्रतिनिधिसभा विघटनसँगै स्वतः निष्क्रिय भएको जानकारी दिनुभयो । तर ती विधेयकका विषयवस्तुलाई समयानुकूल बनाई नयाँ विधेयकका रूपमा आगामी संसदमा अघि बढाउन सकिने उहाँले बताउनुभयो ।
गएको फागुन २१ गते सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लैले एक सय ८२ सिट हासिल गरेको छ । यससँगै हरेक संसदीय समितिमा रास्वपाको एकल निर्णय क्षमता रहने देखिन्छ, जसले गर्दा आउँदो सदनमा महत्त्वपूर्ण विधेयकहरू छिट्टै टुङ्गोमा पुग्ने अपेक्षा गरिएको छ ।
राष्ट्रियसभाको विधायन समितिका अनुसार सङ्घीयता कार्यान्वयनका लागि अझै ३ सय २० भन्दा बढी कानूनको आवश्यकता छ । राष्ट्रियसभामा उत्पत्ति भई माथिल्लो सदनमा विचाराधीन पाँचवटा विधेयक भने अहिले पनि कायमै रहेको प्रवक्ता गिरिले जानकारी दिनुभयो ।











