मकालु । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ को सामाजिक सुरक्षा लिदै आएका लाभग्राहिहरुको बायोमेट्रीक गरिने भएको छ । यसअघि बायोमेट्रीक नगरी सामान्य ढंगबाट नवीकरण गरि भत्ता उपलब्ध गराउने गरिएको थियो । अबभने अनिवार्य रुपमा बायोमेट्रिक गर्नुपर्ने भएकोले बायोमेट्रिक गरिने वडा अध्यक्ष बद्री बहादुर राईले जानकारी दिनुभयो ।

बायोमेट्रिकका लागि २०८३ बैशाख १५ गते भित्र वडा कार्यालयमा आएर बायोमेट्रीक गराई आफ्नो भत्ता सुरक्षित गर्न वडा अध्यक्ष राईले अनुरोध गर्नुभयो। बायोमेट्रिक नगराएमा आउने असुविधाप्रति वडा जिम्मेवार नहुने जानकारी दिनुभयो । साथै सूचनाको जानकारी हुने सबैले आफ्ना छरछिमेक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुलाई जानकारी गराएर सहयोग गर्नसमेत आग्रह गर्नु भएको छ ।

वडा नंं. ३ मा जेष्ठ नागरिक भत्ता लिने २ सय ३७, जेष्ठ नागरिक तथा दलित भत्ता लिने ८, जेष्ठ नागरिक एकल महिला भत्ता लिने २६, विधुवा भत्ता लिने ४१, पूर्ण अपाङ्गता भत्ता लिने ४, अति अशक्त अपाङ्गता भत्ता लिने ३७ र दलित बालबालिका भत्ता लिने १५ जना गरि ३ सय ६८ जना रहेका छन् । हालसम्म बायोमेट्रिक गर्न कोही नआएको वडा अध्यक्ष राईले जानकारी दिनु भयो ।











