देशकाे समृद्धका लागि एकजुट हुन सबै पक्षलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले आज काठमाण्डाैमा आयोजना गरेको जलपान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको नागरिककाे जीवनस्तर माथि उठाएर देशलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै त्याे कामका सबैले ध्यान दिने बेला आएको बताउनुभयाे ।

राष्ट्रपति पाैडेलले चुनावमा प्राप्त जनादेशले देशको भविष्यलाई दिशानिर्देश गरेको उल्लेख गर्नुभयाे । उहाँले राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने विश्वास व्यक्त गर्नुभयो ।

पौडेलले भन्नुभयो, ‘लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनर्पुष्टि गरेको छ । मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले देशको भविष्यलाई दिशानिर्देश गरेको छ । चुनावमार्फत नागरिकले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र देशको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिकाे काँधमा आएको छ । लोकतन्त्रमा मत फरक हुन सक्छन । तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकायलगायतका सम्बद्ध सबै पक्षलाई आभारसमेत व्यक्त गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search