पाँचखपन १ का कृषकलाई कफि काँटछाँटको तालिम सम्पन्न

पाँचखपन नगरपालिका वडा नं. १ लाई कफि पकेट क्षेत्र घोषणा गरी कफि उत्पादनमा जोड दिइएको छ । यहाँका करिब २ सय किसान कफि खेतीमा प्रत्यक्ष संलग्न छन् । नगरपालिका र वडा कार्यालयमार्फत कफिको बिरुवा वितरण र कृषकलाई आवश्यक तालिम दिएर बिरुवा काँटछाँट तथा रोग पहिचान लगायत घरायसी मल उत्पादनका तालिमहरु समेत सञ्चालन गरिदै आएको छ । कफि खेतीलाई व्यवस्थित र उत्पादन बढाउनको लागि समाज विकास केन्द्र सोडेकले सुरुवाती चरण देखि नै प्राविधिक रुपमा सहयोग गरिरहेको छ । सोडेकमा कार्यरत कफि तथा मेकाडोमियाका प्राविधिक सूर्य बहादुर दाहालले पछिल्लो समय कृषकहरुको आकर्षण कफि खेतीमा गइरहेको र वडा नं. १ का कृषकहरुले लगानीसमेत गरिरहेको बताए ।

स्थानीय कृषक राजन पुरीले कफिका दुई हजार बिरुवा बगान लगाएका छन् । उनले यो पहिलो वर्ष करिब डेढ सय केजी कफि उत्पादन गरेको बताए । अलैंचीको बिरुवा सुक्ने र मर्ने समस्या हुन थालेपछी सोही स्थानमा कफिको बिरुवा लाउन थालिएको उनले बताए । यस्तै गायत्री गिरीले पनि कफि खेती सुरु गरेका छन् । उनले तीन वर्ष अघि देखि बिरुवा लाउन सुरु गरेका छन् । करिब ७ बिरुवा लगाइसकेका उनले यो पहिलो वर्ष ५० किलो बढी कफि उत्पादन गरेको सुनाए ।

पाँचखपन १ नं. वडा भित्र अरबिका प्रजातिको कफिको बिरुवा निशुल्क वितरण गरेर कृषकलाई हौसला दिइएको वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताए । बुढाथोकी आफैले पनि तीन सय रोपनी क्षेत्रफलमा करिब १७ हजार बिरुवा लगाएका छन् । उत्पादन सुरु भई सकेकाले अन्य कृषकलाई पनि कफि खेतीमा लाग्न उनले अनुरोध गरे । खाली जग्गाको सदुपयोग तथा आर्थिक समृद्धीका लागि कृषिमा क्रान्ति गर्ने उद्धेश्यका साथ अन्य खेती जस्तै कफि खेतीमा लाग्न उनले जोड दिएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search