काठमाण्डाै । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अब भने एउटै बेन्चमा बस्ने भएका छन् ।
गएकाे फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको हो । यसअघि देशका प्रमुख तीन दलको पहिचानमा रहँदै आएको थियो ।
विसं २०६३ मा लोकतन्त्रको स्थापना र तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गठन भएको अन्तरिम संसद्मा यी तीनवटै दल एउटै बेन्चमा थिए । तर २०६४ सालको संविधानसभा चुनावबाट बनेको सभा र त्यसपछिका संसद्हरूमा भने कांग्रेस, एमाले र माओवादीमध्ये कुनै दुई दल सत्तामा हुँदा प्रायः एक दल प्रतिपक्षमा बस्ने गरेको अवस्था थियो ।
तीन वटै दल एउटै बेन्चमा बस्न लागेको भने यो पहिलो पटक हो । यस पटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिका रहनेछन् । एउटै विपक्षी बेन्चमा तीन दल रहनेछन् । गएकाे फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछि आज सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
समारोहमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुभयो । शपथका क्रममा तीन दलका सांसदहरू प्रतिपक्षी बेन्चमा उभिएर शपथ लिए । राजनीतिक दलहरूको सिट सङ्ख्याका आधारमा सङ्घीय संसद् सचिवालयले दलहरूको बस्ने बेन्चको व्यवस्था गरेको छ ।











