काठमाण्डाै । वसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिने क्रम शुरू भएको छ । पर्यटन विभागका निर्देशक हिमाल गौतमकाअनुसार अहिलेसम्म ७ वटा हिमाल आरोहणका लागि ८२ जनाले अनुमति लिएका छन् ।
सबैभन्दा धेरै अन्नपूर्ण हिमालका लागि २२ र आमाडब्लमका लागि २० जनाले अनुमति लिएका छन् । अहिलेसम्म आरोहण अनुमति लिने २१ महिलासहित ८२ जना विभिन्न २५ वटा देशका नागरिक हुन् । उनीहरूबाट सरकारले १ करोड ८४ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । हरेक वर्ष चैत लागेसँगै नेपालका हिमाली क्षेत्रमा पर्यटकको भीड बढ्न थाल्छ । सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतुको यो समयलाई अनुकूल मानिन्छ ।
हिमालका हावाको गति कम हुनुका साथै मौसम अनुकूल हुने भएकाले प्रि–मनसुनको समय हिमाल आरोहणका लागि अनुकूल हुने भएको हो । आरोहण वैशाखदेखि जेठको मध्यसम्म चल्छ । त्यसअघि बन्दोबस्तीका कामसँगै शरीरलाई अनुकूल बनाउने काम हुन्छ ।
यस वर्ष पर्यटन विभागले ९ बुँदे निर्देशिका जारी गर्दै वसन्त आरोहण सिजनका लागि कडा नयाँ नियमहरू लागू गरेको छ । जसअनुसार आरोहण अनुमतिका लागि कम्तीमा २ दिनअघि नै विस्तृत कागजात पेश गर्नु अनिवार्य बनाएको छ । हरेक टोलीमा सरदार अर्थात् मुख्य गाइड तोकिएको हुनुपर्ने नियम थपिएको छ ।
सगरमाथामा वसन्त ऋतुको अनुमतिपत्र शुल्क ११ हजार अमेरिकी डलरबाट बढेर यस पटकदेखि १५ हजार डलर पुगेको छ ।











