काठमाण्डाै । हिजो २४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज बढेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से १४ दशमलव २१ अङ्कले बढेर २ हजार ९५० दशमलव १६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, जीवन बीमा र व्यापार समूहको सूचक घटेको छ । यस्तै म्युचल फन्ड समूहको सूचक घटबढ भएको छैन । आज जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहको शेयर डेढ प्रतिशतले उकालो लागेको छ । आज १७८ वटा कम्पनीको शेयर बढेकोमा ८० वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज ३ करोड ४ लाख कित्ता शेयर १३ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।











