काठमाण्डौ । पछिल्लो समय अदालतमा दर्ता गरेर गरिने विवाह अर्थात कोर्ट म्यारिजप्रति आकर्षण बढ्दै गएको छ । बढ्दो शहरीकरण, वैदेशिक रोजगारी, व्यस्त जीवनशैली तथा बदलिँदो सामाजिक सोचका कारण यसप्रति आकर्षण बढ्दै गएको हो ।
बालविवाह, बहुविवाह तथा दाइजो प्रथाजस्ता कुप्रथालाई न्यूनीकरण गर्ने प्रभावकारी माध्यमका रूपमा दर्ता विवाहलाई समाजले सकारात्मक रूपमा लिन थालेको देखिन्छ । काठमाण्डौ जिल्ला अदालतका अनुसार गएको फागुनमा एकैदिन अधिकतम २७ जोडीले दर्ता विवाह गरेका थिए भने सामान्य दिनमा दैनिक झण्डै १० वटासम्म यस्ता विवाह हुने गरेका छन् ।
चालु आर्थिक वर्षको चैत ११ गतेसम्म एक हजार ७५५ वटा दर्ता विवाह सम्पन्न भइसकेका छन् । अघिल्लो आर्थिक वर्षमा २ हजार ८४३ निवेदन परेका थिए । परम्परागत रूपमा विवाहका लागि अनुपयुक्त मानिने साउन, कात्तिक, पुसजस्ता महिनामा पनि उल्लेख्य संख्यामा दर्ता विवाह भएको अभिलेखले देखाउँछ । यसले परम्परागत सोचभन्दा व्यावहारिकता र सहजतालाई प्राथमिकता दिने प्रवृत्ति बढेको संकेत गर्दछ ।
समाजशास्त्री टीकाराम गौतमका अनुसार दर्ता विवाह आधुनिक समाजको विशेषता र सामाजिक रूपान्तरणको सूचक हो । बदलिँदो सामाजिक संरचना, शिक्षा र रोजगारीका कारण विवाहसम्बन्धी परम्परागत अभ्यासमा परिवर्तन आउँदा यसको प्रभाव दर्ता विवाहको बढ्दो संख्यामा देखिएको उहाँ बताउनुहुन्छ ।
वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेलका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै कानुनी रूपमा छिटो, सरल र आधिकारिक विवाह गर्ने प्रवृत्ति पनि बढेको हो । दर्ता विवाहबाट प्राप्त कागजात विदेश जाने प्रक्रियामा समेत उपयोगी हुने भएकाले यसको महत्त्व अझ बढेको छ । दर्ता विवाहका लागि आवश्यक कागजात पूरा गरेमा अदालतले ५०० रुपैयाँ शुल्कमा सेवा प्रदान गर्दै आएको छ ।
कानुनले सात दिनको समय तोके पनि काठमाडौँ जिल्ला अदालतले ‘फास्ट ट्र्याक’ सेवा अन्तर्गत दुई घण्टाभित्रै प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ ।










