काठमाण्डौ । भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति नेपाल बार एशोसिएसन र पत्रकार महासंघले आपत्ति जनाएका छन् । प्रतिवेदनले आयोगको कार्यक्षेत्रभन्दा बाहिर गएर शक्ति विभाजनको सिद्धान्तलाई समेत अनदेखा गरेको भन्दै नेपाल बारले विरोध जनाएको हो । हिजो नेपाल बार एशोसिएसनको सल्लाहकार समितिको बैठकले प्रतिवेदनमा असहमति प्रकट गरेको छ ।
कार्की आयोगको प्रतिवेदन भनी विभिन्न सञ्चार माध्यममार्फत प्रकाशित प्रतिवेदन प्रथम दृष्टिमै आयोगको तोकिएको कार्यक्षेत्र बाहिर गई शक्ति विभाजनको सिद्धान्तलाई समेत अनदेखा गरी सर्वोच्च अदालतको सबै न्यायाधीशको पूर्ण इजलासले संविधान र कानून आफैले संशोधन गर्न सक्नु पर्दछ भन्ने लगायतको प्रतिवेदनको विषयहरूप्रति प्रारम्भिक रूपमै गम्भीर ध्यानाकर्षण भएको भन्दै बैठकले स्वतन्त्र न्यायपालिकाको मूल मर्म र भावना विपरितको कथनप्रति असहमति जनाउने निर्णय गरेको हो ।
त्यस्तै स्वतन्त्र न्यायपालिका र स्वतन्त्र कानुन व्यवसायमा समेत प्रभाव पार्ने बेहोराहरू प्रतिवेदनमा परेको भन्दै नेपाल बारले प्रधानन्यायाधीशमार्फत सर्वोच्चको पूर्ण बैठक (फूल कोर्ट)को ध्यानाकर्षण समेत गराएको छ । बैठकले अध्यक्ष विजयप्रसाद मिश्रको अध्यक्षतामा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल पत्रकार महासंघले जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर पत्रकारिताका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेका कतिपय प्रावधानहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार र सञ्चारमाध्यमका सम्बन्धमा प्रतिवेदनमा स्वतन्त्र प्रेसको मर्मविपरीत हचुवाका भरमा उल्लेख गरिएका कतिपय प्रावधान आपत्तिजनक रहेको महासंघको ठहर छ । ‘पत्रकार हुन कम्तीमा स्नातक हुनुपर्ने, १५ वर्षसम्म संवाददाता, स्तम्भकार, अन्तर्वार्ताकार, सहायक सम्पादक भई काम गरेको हुनुपर्ने जस्ता हास्यास्पद सुझाव दिने चेष्टा गर्नु लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्र पत्रकारिताको मूल्य, मान्यता र मर्मविपरीत हो’ महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘आयोगले संविधान र विद्यमान कानुनी प्रावधानविपरीत पत्रकार र सञ्चारमाध्यमलगायतका क्षेत्रमा गरेको टिप्पणीमाथि महासंघ असहमति प्रकट गर्दछ ।’
महासंघले आयोगको प्रतिवेदन प्रतिशोधको भावनाले प्रेरित रहेको उल्लेख गरेको छ । ‘समग्रमा प्रतिशोधको भावनाबाट प्रेरित यो प्रतिवेदनले भोलिको राज्यसंयन्त्रलाई निर्देशित गर्न खोजेको झल्को दिएको छ । नेपाली पत्रकारहरू लोकतन्त्रप्रतिको अविचलित आस्थामा निष्ठावान् छन् भन्ने विषयमा राज्यका सबै निकायलाई महासंघ सचेत गराउँदछ’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार आचारसंहिता पालना गरी स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्छ भन्नेमा सदा सचेत र दृढ रहेको भन्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमण गर्ने जुनसुकै प्रयासको कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।










