राखेपको निलम्बनपछि एन्फाको चुनाव अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव स्थगित भएको छ । एन्फा निर्वाचन समितिले हिजो सूचना निकालेर आजका लागि तय गरिएको चुनाव अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगित गरेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनासम्मका लागि निलम्बन गरेको भन्ने पत्र एन्फा सचिवालयमार्फत निर्वाचन समितिलाई प्राप्त भएकाले मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ’ एन्फाको सूचनामा भनिएको छ । एन्फा चुनाव तेस्रो पटक स्थगित भएको हो । एन्फा कार्यसमिति बैठकले पहिलो पटक माघ २८ गते झापामा चुनाव गर्ने निर्णय गरेको थियो । तर उच्च अदालत पाटनमा मुद्दा दायर भएपछि अदालतले अल्पकालीन आदेश जारी गर्दा स्थगित भएको थियो । यस्तै दोस्रो पटक फागुन २७ गतेका लागि तय भएको एन्फाको चुनाव प्रतिनिधिसभा चुनावको आचारसंहिता लागू भएका कारण निर्वाचन आयोगको पत्रपछि स्थगित भएको थियो ।

पटक-पटक दिएको निर्देशन पालना नगरेपछि राखेपले खेलकुद विकास ऐनलाई टेकेर तीन महिनासम्मका लागि निलम्बन गरेको थियो । अहिलेको एन्फा नेतृत्वले आफू पुनः दोहोरिन कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै विधानविपरीत चुनाव गर्न खोजेपछि विवाद सिर्जना भएको थियो । एन्फा चुनावका लागि अघि बढेपछि राखेपले स्वीकृतिबिना चुनाव नगर्न पटक-पटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दै जसरी पनि चुनाव गर्ने अडान राखेपछि अस्ति बुधबार राखेपले निलम्बन गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search