काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचार भइरहेको छ । शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण गरिएपछि चिकित्सकको सल्लाह अनुसार नै भर्ना गरिएको थियो ।
ओली अहिले ‘एनेक्स वान’को ५०१ बेडमा उपचाररत छन् । थप स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्थाबारे अहिले विभिन्न शारीरिक परीक्षण भइरहेका छन् ।
ओलीले मिर्गौला र मुटु रोग विशेषज्ञ टोलीले निगरानीमा राखेर उपचार गरिरहेका छन् । ‘बिहान अस्पताल आउँदा उहाँको मुटुको चाल बढेको थियो,’ ती चिकित्सकले भने, ‘पेट पनि दुखेको भन्नु भएको थियो ।’
एक्सरे गर्दा भने पेटमा ढुंगा रहेको पाइएको ती चिकित्सकले बताए । उक्त ढुंगाका कारण पेट दुखेको हुनसक्ने ती चिकित्सकले बताउँछन् । अहिले पेट रोग विशेषज्ञ हेरिरहेका छन् ।
मुटुको अवस्था बुझ्न ‘इको’ परीक्षण गरिएको छ । मिर्गौलासम्बन्धी जाँच पनि भइरहेको छ । दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीले नियमित रूपमा प्रत्यारोपणपछिको औषधि (इम्युनोसप्रेसिभ) सेवन गरिरहेका छन् । साथै मुटु एन्जियोप्लाष्टिक गरेका कारण सम्बन्धी औषधि, एन्टिबायोटिक र थाइरोइडको औषधि पनि चलिरहेको ती चिकित्सकले बताए ।
प्रत्यारोपण गराएका बिरामीमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पतालको क्याबिनमा राखेर निगरानीसहित उपचार भइरहेको चिकित्सक बताउँछन् ।
‘अहिले मुटु र मिर्गौलाको थप परीक्षणकै गरिहरेका छौँ । सबै परीक्षणको रिपोर्ट आएपछि डिस्चार्ज गर्न सकिने कि थप राख्नुपर्ने भन्न सकिन्छ,’ ती चिकित्सक भन्छन् ।जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले पूर्व प्रधानमन्त्री ओलीलाई आज बिहान गुण्डु निवासबाट पक्राउ गरेको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखक पनि आजै पक्राउ परेका छन् ।
आज शनिबारको दिन सार्वजनिक बिदा भएकाले उनीहरूलाई आइतबार मात्रै अदालत पेस गर्ने तयारी छ ।











