नेपाली कांग्रेसले गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा नवयुवा आन्दोलन घटनाको सत्यतथ्य सार्वजनिक गर्न जोड दिइएको छ । साथै कांग्रेसले पार्टीका नेता रमेश लेखक पक्राउको विरोधमा सडक आन्दोलनमा नजाने बताएको छ ।
कांग्रेसले भदौ २५ गते उच्चस्तरीय छानबिन आयोग गठन गरी दुवै घटनाको अनुसन्धान गर्न माग गरिएको स्मरण गराउँदै भदौ २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको जनाएको छ । साथै, कानूनसम्मत र पूर्वाग्रहविहीन ढङ्गले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्नेमा पार्टी अडिग रहेको उल्लेख गरिएको छ । कांग्रेसले यसलाई सेलेक्टिभ न्याय अर्थात् चयनमुखीको अभ्यास भन्दै आपत्ति जनाएको छ ।
पार्टीले घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष, पारदर्शी र विधिसम्मत ढङ्गले अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ । साथै, कानूनी प्रक्रिया कमजोर पार्ने कुनै पनि निर्णयले देशलाई थप अन्योलतर्फ लैजान सक्ने चेतावनी दिएको छ । कांग्रेसले सरकारलाई गम्भीर बन्न आग्रह गर्दै विधिको शासन कायम राख्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ ।












