काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । तल्लो मूलपानी मैदानमा भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई ४७ रनले हरायो । गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपीएफले १८ ओभर ३ बलमा १०७ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका सुमित महर्जनले २२ रन बनाए । गण्डकीका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले ३/३ विकेट लिए ।
वर्षाका कारण २१ ओभरमा घटाइएको खेलमा यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ७ विकेट गुमाएर १५० रन बनायो । गण्डकीका गौरव विकेले ३७, दीपक डुम्रेले ३४ रन बनाए । एपीएफका अविनाश बोहराले ३ विकेट लिए । प्रतियोगितामा एपीएफको यो दोस्रो हार हो भने गण्डकीको यो पहिलो जीत हो ।
यस्तै मूलपानी मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ३ विकेटले हरायो । बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्लले ५८ बलमा नटआउट ९० रन, तृतराज दासले ५४ रन बनाए । बागमतीका ईशान पाण्डे र विवेक मगरले २/२ विकेट लिए ।
वर्षाका कारण २८ ओभरमा घटाइएको खेलमा यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ७ विकेट गुमाएर २०८ रन बनायो । बागमतीका आशुतोष घिरैयाले ३८, पवन थापाले ३५ रन बनाए । आर्मीका नरेन साउदले ४ विकेट लिए । प्रतियोगितामा आर्मीको यो तेस्रो जीत हो भने बागमतीको तेस्रो हार हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।










