राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ

काठमाण्डाै । काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताउनुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे पक्राउकाे विराेधमा आज एमालेकाे ज्ञापनपत्र बुझ्दै सीडीओ पाैडेलले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ति फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताउनुभयो । आफूहरूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावानुसार निर्वाह गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कुनै पनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ । हामी प्रशासनिक पेशागत भावानुसार अगाडि बढ्छौँ । हिजोको घटनामा केही झडपहरू भएका छन् । त्यसमा संलग्नलाई कानूनी दायरामा ल्याउँछाैँ । हामीले सुरक्षाकर्मीहरूलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ ।’

हिजाे बसेकाे पार्टीकाे सचिवालय बैठकको निर्णयबमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको हाे । विरोधपत्रमा एमालेले संविधान, मानव अधिकार र विधिको शासन विपरीत काम भएकाे भन्दै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search