काठमाण्डाै । शेयर बजार हप्ताको पहिलो कारोबार दिन उच्च अङ्कले घटेको छ । नयाँ सरकार गठनपछिकाे पहिलाे काराेबार दिन शेयर बजार परिसूचक नेप्से आज ७१ दशमलव ०५ अङ्कले घटेर २ हजार ८७९ दशमलव ११ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको सूचक ३ दशमलव ३७ प्रतिशतले ओरालो लागेको छ । यस्तै लगानी समूहको सूचक झन्डै ३ प्रतिशत तथा बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स अन्य र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज २५५ वटा कम्पनीको शेयर घटेकोमा १० वटाको बढेको छ । यस्तै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर भने घटबढ भएको छैन ।
आज युनिक नेपाल लघुवित्तको शेयर सबैभन्दा धेरै ६ दशमलव १७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३३३ वटा कम्पनीका ३ करोड ५२ लाख कित्ता शेयर १५ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।










