२ दिनमै ११८ अङ्कले घट्यो शेयर बजार

काठमाण्डाै । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ७१ अङ्कले घटेर २ हजार ८३१ दशमलव ३९ विन्दुमा झरेको छ । हिजो नेप्से ७१ अङ्कले घटेको थियो । नयाँ सरकार गठनपछिको दुई कारोबार दिनमै नेप्से ११८ अङ्कले घटेको हो ।

आज सबै समूहको सूचक घटेकोमा अन्य र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै फाइनान्स समूहको सूचक २ प्रतिशतले घटेको छ । आज २३७ वटा कम्पनीको शेयर घटेकोमा २६ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सोलु हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ७ दशमलव ७९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३४१ वटा कम्पनीको ३ करोड १६ लाख कित्ता शेयर १२ अर्ब ९६ करोडमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search