काठमाण्डाै । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि चैत १९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक भोलि दिउँसो १ बजे सिंहदरबारमा रहेको सचिवालयमा बस्नेछ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित सांसदहरूको पहिलो अधिवेशन राष्ट्रपति पौडेलले पर्सि दिउँसो २ बजे आह्वान गर्नुभएको छ । बैठकले सभामुख र उपसभामुखको चयन प्रक्रिया अगाडि बढाउने छ ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रतिनिधित्व छ । त्यस्तै एक जना निर्वाचित स्वतन्त्र सांसद महावीर पुन हुनुहुन्छ ।











