काठमाण्डाै । फिफा विश्वकप शुरू हुनुभन्दा ७२ दिन अगाडि घानाले मुख्य प्रशिक्षक ओटो एडोलाई बर्खास्त गरेको छ । जर्मनीसँगको मैत्रीपूर्ण फुटबलमा पराजित भएको केही घण्टापछि घानाले प्रशिक्षक ओटोलाई बर्खास्त गरेको हो । घाना फुटबल सङ्घ (जीएफए) ले ओटोलाई हटाइएकोबारे थप विवरण दिएको छैन ।
स्टुटगार्टमा घरेलु टोली जर्मनीसँग २–१ गोलको हार घानाको मैत्रीपूर्ण खेलमा लगातार पाँचौँ हार थियो । यसअघि शुक्रवार घानाले अस्ट्रियासँग पनि ५–१ गोलको हार बेहोरेको थियो ।
घानाले सन् २०२४ को मार्चमा ओटो एडोलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो । जर्मनमा जन्मिएका बोरुसिया डर्टमन्डका पूर्वखेलाडी ओटोको प्रशिक्षणमा घाना सन् २०२२ मा कतारमा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।
कतार विश्वकपमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराए पनि पोर्चुगल र उरुग्वेसँग पराजित भएपछि समूह चरणबाटै बाहिरिनु परेको थियो । २३औँ संस्करणको फिफा विश्वकप आउँदो जुन ११ देखि जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्तरूपमा आयोजना हुँदैछ । फिफा विश्वकप पहिलो पटक तीन वटा देशमा हुन लागेको हो ।
४८ वटा टोली सहभागी प्रतियोगितामा घाना समूह ‘एल’ मा छ । घानाले समूह चरणमा पानामा, क्रोएशिया र इङ्ग्ल्यान्डसँग खेल्नेछ ।











