काठमाण्डाै । मौसम पूर्वानुमान महाशाखाले हावाहुरी तथा मेघगर्जन/चट्याङ तथा असिनासहित पानी पार्ने प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागमा मेघगर्जन/चट्याङसहित पानी परेको छ । कालीकोट, प्यूठान, पर्वत, बागलुङ, कास्की, लमजुङ, म्याग्दी, तनहुँ, पाल्पा, मनाङलगायत आसपासका क्षेत्रमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित मध्यम वर्षा तथा उच्च क्षेत्रमा हिमपात भएको छ ।
त्यस्तै काठमाण्डौ उपत्यकासहित आसपासका जिल्ला र गोरखा, दोलखा, पूर्वका केही जिल्लामा पनि पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै तनहुँमा झन्डै २० मिलिमिटर वर्षा मापन भएको छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी प्रदेशसहित देशका पहाडी र हिमाली भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
मौसम पूर्णरूपमा खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले मौसमी सूचनाको जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन आग्रह पनि गरेको छ ।











