काठमाण्डौ । हप्तामा दुई दिन बिदा हुँदा झण्डै १० प्रतिशत इन्धन खपत कम हुने अनुमान गरिएको छ । नेपाल आयल निगमका अनुसार देशभर दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ ।
हप्तामा एक दिन बिदा थपिंदा पेट्रोल र डिजेलको कुल उपभोगको १० प्रतिशत अर्थात् ७ लाख ५० हजार लिटर इन्धन बचत हुने अनुमान छ । तर निगमका प्रवक्ता मनोज ठाकुर हप्तामा एक दिन बिदा थप्ने निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न कम्तिमा एक हप्ता कुर्नुपर्ने बताउनुहुन्छ ।
उहाँका अनुसार बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव भने पक्कै देखिन्छ । हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बिदा पाइयो भनेर घुम्न नजान उहाँको आग्रह छ ।
हिजोको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन शनिबार र आइतबार सरकारी कार्यालय र शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो । यसअघि पनि यस्तै निर्णय भएको थियो । २०७९ सालमा तत्कालीन सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि अव्यावहारिक भएको भन्दै विरोध भएपछि एक महिनामै थप बिदा दिने निर्णय खारेज भएको थियो ।
यस्तै २०५६ देखि पनि हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास शुरु भएको थियो । तर त्यो निर्णय दुई वर्ष मात्र लागू भएको थियो ।











