उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

काठमाण्डौ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ –४ न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको लोमान्थाङ–४ चुमजुङमा रहेको च्याङ्ग्रा खोरमा अस्ति शनिबार राति हिमचितुवाले पशुचौपायामाथि आक्रमण गरेको थियो ।

एक्याप प्रमुख उमेश पौडेलका अनुसार चितुवाको आक्रमणबाट १० च्याङ्ग्रा र ११ भेडा मरेका हुन् । खोरमा तीन सय १५ वटा भेडाच्याङ्ग्रा रहेका थिए । हिमचितुवाको आक्रमणबाट भेडाच्याङ्ग्रा मरेका सूचनापछि एक्याप लोमान्थाङका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र लोमान्थाङ गाउँपालिकाका पशु प्राविधिकलगायतको टोली हिजो घटनास्थलमा पुगेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार पीडित पशुपालकको च्याङ्ग्रा खोर ग्याबिन तारको घेराबारभित्र रहेको अवस्थामा हिमचितुवाले आक्रमण गरी भेडाच्याङ्ग्रा क्षति पुर्‍याएको हो ।

यसअघि गत गएको फागुण ११ गते उपल्लो मुस्ताङको लोमान्थाङ–४ किम्लिङमा स्थानीय पशुपालक किसान मिङमार गुरुङको खोरमा हिमचितुवाले आक्रमण गर्दा नौवटा च्याङ्ग्रा मरेका थिए भने नौवटा च्याङ्ग्रा घाइते भएका थिए ।

एक्यापले हिमचितुवा तथा अन्य वन्यजन्तुपीडित किसानलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट उपलब्ध हुने राहत उपलब्ध गराउने गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search