काठमाण्डौ उपत्यकामा नियम उल्लङ्घन गरी गाडी चलाउनेविरुद्ध कडा निगरानी

काठमाण्डाै । काठमाण्डौ उपत्यकामा गाडी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले नियम उल्लङ्घन गरेर गाडी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान शुरू गरेको छ ।

पछिल्ला दिनहरूमा बढ्दो गाडी दुर्घटनाका मुख्य कारणमध्ये जाँड–रक्सी वा लागूपदार्थ खाएर गाडी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गरेको हो ।

यस अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित आफैँ सडकमा खटिने गरेको छ भने ‘कन्ट्रोल रूम’ मा बसेको टोलीले कहाँ कुन नम्बरको गाडीले नियम उल्लङ्घन गरेको छ, त्यो विषयमा जानकारी दिने छ ।

ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक गाडीका चालकहरूलाई लक्षित गरी तथा दिउँसो र बेलुकीतिर विशेषगरी दुईपाङ्ग्रे गाडी चालकहरूलाई केन्द्रित गरेर विभिन्न ठाउँमा जाँच शुरू गर्ने गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले गाडी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको बताउनुभयो ।

यसैबीच ट्राफिक प्रहरीले अबदेखि जाँड–रक्सी वा लागूपदार्थ खाएर गाडी चलाउने, सडकका ‘डिभाइडर’ मा ठोक्काएर गाडी चलाउने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै खारेज गर्न सम्बन्धित निकायमा सिफारिश गर्ने तयारी गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search