पोखरा । पोखराको फेवाताल किनारमा बनेका संरचनामा शनिबार बिहान झिसमिसेमै डोजर चलाइएपछि देशभर चर्चाको विषय बन्यो । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको १०० कार्यसूचीमा परेलगत्तै गृहमन्त्री सुदन गुरुङकोसमेत निर्देशन भन्दै शनिबार बिहान भत्काइएको भनिएका संरचना फेरि उस्तै गरि तयार भएका छन् ।
प्रधानमन्त्री शाह, गृहमन्त्री गुरुङ र पोखराका मेयर धनराज आचार्यको समन्वयनमा शनिबार बिहानै फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका खपौंदीका ३२ वटा संरचनामा डोजर चलाइएको थियो । स्थानीयका जग्गामा बनेका संरचना र पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टमको प्रांगढ र त्यहीँ रहेको स्वीमिङ पुलमा डोजर पर्यटकसमेत सुतिरहेको अवस्थामा डोजर चलाइएको भन्दै विरोधसमेत भएको थियो ।
एकाबिहानै डोजर चलाएर देशभर चर्चाका विषय बनेको फेवातालभित्र बनेका संरचना फेरि पहिलेकै जस्तो गरी चल्न सुरु गरेका हुन् । महानगरले नागरिकसँग समन्वय नै नगरी डोजर चलाएर आतंक मच्चाएको भन्दै विरोधमा उत्रिएका व्यवसायीले फेरि ती संरचनालाई उठ्याएर पहिलेजस्तै व्यापार थालेका हुन् ।
फेवातालमै संरचनाको जग पर्ने गरी थुप्रै संरचना बनाएका भए पनि महानगरले ३२ वटामात्र संरचनाका केही भागमा डोजर चलाएको थियो । डोजरले संरचनाका केही भाग, पर्खाल, होडिङबोर्ड भत्काउनेदेखि वाटर फ्रन्टको स्वीमिङ पुल र बगैंचामासमेत डोजर चलाएको थियो । तर, त्यसको २ दिनपछि सोमबारसम्म अधिकांश संरचना ठडिइसकेका छन्, भने ती संरचनाबाट व्यापारसमेत सुरु भइसकेका थिए ।
प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन भन्दै महानगरले हतारमा डोजर चलाएर चर्चा कमाएको भन्दै विरोध भएको थियो, भने आइतबार जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगपालिकालगायतका कार्यालयमा स्थानीय जग्गाधनी र व्यवसायीले ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री बालेन्द्र, गृहमन्त्री सुदन र पोखराका मेयर आचार्यविरुद्ध आइतबार प्रदर्शनसमेत गरेका थिए ।











