मध्यपूर्व युद्धविराम बाबजुद लेबनानमा इजरायली आक्रमण कायमै

इरान र अमेरिकाबीच युद्धविराम भए पनि इजरायलले दक्षिण लेबनानमा आक्रमण गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराममा लेबनान समावेश नभएको बताएसँगै इजरायली सेनाले आक्रमणलाई निरन्तरता दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहविरुद्धको कारबाही नरोकिएको बताएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीकाअनुसार दक्षिणी टायर क्षेत्रमा रहेको भवन खाली गर्न चेतावनी दिएपछि इजरायलले आक्रमण गरेको हो ।

पछिलो समयमा इजरायली आक्रमणका कारण लेबनानमा १ हजार ५०० जनाभन्दा धेरैको ज्यान गएको छ भने १० लाखभन्दा धेरै विस्थापित भएका छन् । लेबनानी अधिकारीहरूकाअनुसार विशेषगरी देशको दक्षिण, पूर्व र बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको प्रभुत्व रहेको छ ।

विश्व बजारमा तेलको मूल्य घट्यो, शेयर बजार उकालो लाग्यो

यसैबीच इरान र अमेरिकाबीच दुई हप्ताका लागि युद्धविराम र ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सहमतिपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयर बजार उकालो लागेको छ ।

तेलको मूल्य १३ प्रतिशतले घटेर प्रति ब्यारेल ९४ दशमलव ८० अमेरिकी डलरसम्म झरेको छ । तर तेलको मूल्य गएको फेब्रुअरीमा मध्यपूर्व द्वन्द्व शुरू हुनुभन्दा अझै धेरै छ । त्यति बेला तेलको मूल्य प्रति ब्यारेल ७० डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

आज एशियासँगै युरोपको शेयर बजार उकालो लागेको छ । शुरुआती कारोबारमा लन्डनको ‘एफटीएसई १००’ शेयर सूचकाङ्क २ दशमलव ५३ प्रतिशतले बढेको छ । यस्तै फ्रान्सको ‘सीएसी’ ४ प्रतिशत र जर्मनीको ‘डीएएक्स’ झन्डै ५ प्रतिशतले बढेको छ ।

यसैगरी जापानको ‘निक्केई २२५’ ५ प्रतिशत, दक्षिण कोरियाको ‘कोस्पी’ झन्डै ६ प्रतिशत, हङकङको ‘ह्याङ सेङ’ २ दशमलव ८ प्रतिशत र अस्ट्रेलियाको ‘एएसएक्स’ २ दशमलव ७ प्रतिशतले बढेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search