ग्रीसले सन् २०२७ को जनवरी १ देखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले प्रतिबन्धको उद्देश्य बढ्दो चिन्ता, निद्रा समस्या र स्क्रिनको लतलाई सम्बोधन गर्नु रहेको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
गएको फेब्रुअरीमा प्रकाशित एक मत सर्वेक्षणले सर्वेक्षणमा संलग्नमध्ये झन्डै ८० प्रतिशत नागरिक प्रतिबन्धको पक्षमा रहेको देखाएको छ ।
ग्रीक सरकारले पहिले नै विद्यालयहरूमा मोबाइल फोनलाई गैरकानूनी बनाएको छ र किशोरकिशोरीहरूको स्क्रिन समय सीमित गर्न अभिभावकीय नियन्त्रण प्लेटफर्महरू स्थापना गरिसकेको छ ।
ग्रीसको संसद्ले २०२६ को मध्यतिर प्रतिबन्धको कानून बनाउने खबरमा उल्लेख छ । अन्य देशहरूले पनि सामाजिक सञ्जालमा नियमहरू कडा पारिरहेका छन् जसमा बेलायत, मलेशिया, फ्रान्स, डेनमार्क र पोल्यान्डले या त प्रतिबन्ध लगाउने विचार गरिरहेका छन् वा कानून बनाउने प्रक्रियामा छन् ।
गएको डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वको पहिलो देश बनेको थियो ।











