लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो

अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि इजरायलले लेबनानमाथि आक्रमण गरिरहेको छ । इजरायलले लेबनानमा इरान समर्थित विद्रोही समूह हिजबुल्लाहमाथिको आक्रमणलाई झनै तीव्र बनाएको हो ।

युद्धविराम सहमति भए पनि इजरायल–लेबनान द्वन्द्व कायमै रहँदा क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको सङ्केत देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा २ सय ३ जनाको ज्यान गएको र १ हजारभन्दा धेरै घाइते भएका जनाएको छ ।

इरानले लेबनानमाथि इजरायली आक्रमणलाई युद्धविराम सम्झौताको उल्लङ्घन भनेको छ । हिजो इजरायलले लेबनान युद्धविरामको हिस्सा नभएको बताउँदै आक्रमण शुरू गरेको थियो ।

यसैबीच इजरायलले लेबनानमा आक्रमण गरेर युद्धविराम उल्लङ्घन गरेको भन्दै इरानले हर्मुज जलमार्ग बन्द गरेको छ । अनुमतिविना हुर्मज जलमार्ग पार गर्न खोज्ने कुनै पनि जहाजलाई आक्रमण गरेर नष्ट गर्ने इरानी नौसेनाले चेतावनी दिएको छ । हर्मुज जलमार्गमा अवरोध भएसँगै तेलको भाउ फेरि बढेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक र पूर्ण कार्यान्वयन हुने सम्झौता’ नभएसम्म इरान नजिकै तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने बताउनुभएको छ ।

अमेरिकी सेना, हतियार र सैन्य संरचना इरानकै वरिपरि क्षेत्रमा यथावत् रहने ट्रम्पको भनाइ छ । यसले वार्तासँगै सैन्य दबाव कायम राख्ने अमेरिकी रणनीति झल्काएको छ ।

मङ्गलवार भएको दुई हप्ते युद्धविरामले द्वन्द्वमा केही विरामको सङ्केत दिए पनि क्षेत्रीय तनाव घटेको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search