काठमाण्डौ । कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । शुरुमा ८ सय ४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना अहिले अध्ययनका क्रममा ६ सय ४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।
अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट झण्डै १० किलोमिटर माथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २ सय ४४ मिटर अग्लो बाँध निर्माण हुने भएको छ । बाँधमा पानी जम्मा हुँदा झण्डै २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ ।
यस आयोजनाको नेट हेड १ सय ८३.४ मिटर छ । डिस्चार्ज ४ सय ५ घनमिटर प्रतिसेकेन्ड र कुल वार्षिक ऊर्जा उत्पादन १ हजार ६ सय ४५ दशमलव ६५ गिगावाट घण्टाबराबर हुने आयोजनाले जनाएको छ । आयोजनामा चारवटा स्टिल पेनस्टक, विद्युतगृह चारवटा फ्रान्सिस टर्बाइन प्रस्ताव गरिएको छ । आयोजनाको विद्युतगृह बिहादी गाउँपालिका बर्राचौर पर्वतमा प्रस्ताव गरिएको छ ।
आयोजनाले पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । यस्तै बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका प्रभावित हुनेछ ।
आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेसनल तथा जेड कन्सल्टले गरिरहेको छ । प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक, कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ ।











