काठमाण्डौ । मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै नेपाली नागरिक त्यस क्षेत्रबाट स्वदेश फर्किएका छन् । अमेरिका र इरानबीचको युद्धले मध्यपूर्वमा तनाव बढेपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा धेरै नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार ती नागरिक तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्किएका हुन् । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो ।
यसै गरी मन्त्रालयको कन्सुलर सेवा विभागले शुरु गरेको अनलाइन पोर्टलमा अहिलेसम्म ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा विवरण दर्ता गराएका छन् । इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मन्त्रालयले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको छ ।











