संखुवासभा । पाठेघर फुटेर गर्भमा भएको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल संखुवासभाबाट आइतबार एक महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुरको षडानन्द नगरपालिका(५ की ३३ वर्षीया नानीमैया मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रम अर्न्तगत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला अस्पतालका डा प्रदिप श्रीवालका अनुसार आइतबार बिहान ६ बजेदेखि अत्याधिक रक्तश्राब भएर उनको पाठेघर फुटेको थियो ।
पाठेघर फुटे लगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उनले बताए । जिल्लामा उपचार सम्भव नभएपछि उनलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यबिधि अनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताइन् ।
उनलाई थप उपचारका लागि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल थापाथली लगिएको छ ।











