काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीमा नेतृत्वले जनता र कार्यकर्ताको आवाजलाई सुनेर न्यायोचित निर्णय गर्ने विकास गर्न आवश्यक रहेको बताएका छन् । उनले कार्यकर्ताको गुनासोलाई झुलबाहिर लामखुट्टे कराएको जस्तोमात्रै ठान्नुको सट्टा त्यसको सुनुवाई गर्ने संयन्त्रको विकास गर्नुपर्ने बताए ।
सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा बोल्दै नेता केसीले भने, जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएको जस्तो ठान्नु हुँदैन, सुनवाई गर्ने संयन्त्रको विकास जरुरी छ । अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुनसक्छ । अहिले आगो लगाउने नेतृत्व होइन आगो निभाउने । उत्तेजना र आवेग होइन, विवेक प्रस्तुत गर्ने । तोड्ने होइन, जोड्ने नेतृत्व आवश्यक छ ।
नेता केसीले अहिलेको शासकीय खराबीका कारण देखिएका समस्याहरुलाई परास्त गर्न नसके ती नै खराबीहरुले आफूहरुलाई सिध्याउने चेतावनी समेत दिए । आजको देशब्यापी निराशा र जनआक्रोशको प्रमुख कारण( भ्रष्टाचार, दण्डहीनता, कुशासन र आर्थिक अपराध हो । यसकाविरुद्ध सरकार र जनस्तरको आन्दोलन कांग्रेसकै नेतृत्व र समन्वयमा हुनुपर्छ । अहिले देखिएका यी शासकीय खराबीलाई हामीले सिध्याउन सकेनौं भने यिनैले हामीलाई सिध्याउँछन्, नेता केसीले अघि भनेका छन्,तसर्थ जनताको पदचाप र वरपरका घटनाहरूबाट समयमै शिक्षा लिनु जरुरी छ ।
नेता केसीले देशमा जननिर्वाचित सत्ताबाट बहुमतको दम्भ, निरंकुशता, तानाशाही, दमनकारी नीति तथा सुशासन कायम नहुने हो भने जनताले त्यसको विकल्प खोज्छन् भन्ने कुरा बंगलादेशको घटनाक्रमले समेत पुष्टि गरेको दाबी गरे ।
नेता केसीले वर्तमान सरकारको सफलता राष्ट्रकै निमित्त ठूलो अवसर बन्न सक्ने भन्दै सरकारलाई सफल बनाउन कांग्रेसले पहल लिनुपर्ने बताए । यसको असफलताले सम्पूर्ण पद्धतिमा नै संकट आउन सक्छ भन्ने हेक्का हामीले राख्नुपर्ने जरुरी छ,उनको भनाइ छ ।











